
ह्युस्टन— अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाका कारण १७ जनाको मृत्यु भएको छ ।
वेब काउन्टी दक्षिणी टेक्सासमा चिकित्सा परीक्षक डा.कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका १७ जनाको मृत्यु भएको छ ।
‘यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं । तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ र दुर्घटना, परिभाषाअनुसार,रोकथाम गर्न सकिने मृत्यु हुन् । यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो,’उनकाे भनाइ छ ।
यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा शुक्रबार गर्मीका कारण मृत्यु भएको छ । त्यहाँको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो ।
यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।