
काठमाडौं— फ्रान्समा मंगलबार पुलिसले १७ वर्षीय किशोरको गोली हानी हत्या गरेपछि हिंसात्मक प्रदर्शन भएका छन् ।
सवारी जाँचमा रोक्न नमानेपछि प्रहरीले किशोरमाथि गोली प्रहार गरेको थियो । सोही घटनालाई लिएर फ्रान्समा प्रदर्शनकारीहरू मंगलबार रातिदेखि सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले किशोरको गोली लागी मृत्यु भएको ठाउँमा धेरै सवारीहरू आगो लगाइदिएका छन् ।
प्रहरीले १५० जना प्रदर्शनकारी पक्राउ गरिसकेको छ । प्रदर्शन अझै जारी छ ।
प्रहरीको गोलीद्वारा मारिने किशोरको नाम नाहेल एम हो । उनको परिवार अल्जीरियाई हो । फ्रान्सेली मिडियाको अनुसार सन् २०१७ को ट्राफिक स्टप पोस्टमा मारिने संख्या हेर्दा धेरै जसो काला र अरब रहेको पाइएको छ ।
प्रहरीले हानेको गोली लागेपछि किशोर सवार गाडी केही पर पुगेर दुर्घटनाग्रस्त भएको थियो । फ्रान्सेली मिडियाको अनुसार पुलिसले किशोरले आपूmहरूलाई चोट पुर्याउनलाई गाडी आफ्नो नजिक ल्याएको बताएको छ । तर, उक्त घटनाको सिसि टीभी फुटेजमा एक पुलिस अधिकारीले ढोकादेखि नै गाडीको ड्राइभरलाई निशाना बनाइ नजिकैबाट गोली चलाएको देखिएको न्यूज एजेन्सी एएफपीले प्रमाणित गरेको छ ।
उक्त घटनापछि फ्रान्सेली गृह मन्त्रीले ‘यो घटना गणतन्त्रविरुद्धको असहनीय हिंसाको रात हो’ भनेका छन् । यस्तै, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंले यस घटनालाई अनुचित भएको बताएका छन् ।