काठमाडौं— इटालीको भेनिसकी एक शिक्षिकाले २४ वर्षमा २० वर्ष विद्यालय नगइ तलब बुझेपछि बर्खास्त भएकी छन् ।
गत साता मात्रै इटालीको सर्वाेच्च अदालतले शिक्षिका सिनजिया पाओलिना डी लियोलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
माध्यमिक तहकी शिक्षिका उनी इतिहास र दर्शनशास्त्र विषय पढाउथिन् । सन् २०१७ मा विद्यार्थीलाई राम्रोसँग नपढाएको भनि उजुरी परेपछि चार महिनाको लागि विद्यालयले बर्खास्त गरेको थियो ।
यसमा इटालीको उच्च अदालतले शिक्षिकाको बर्खास्तीलाई विद्यालयमा अनुपस्थिति हुनु भनेको अयोग्यता हो भनी पुष्टि गरेको थियो । तर, ती शिक्षिकाले भने अदालतको उक्त निर्णयको खण्डन गर्दै साँचो कुरा बाहिर ल्याउने भन्दै कानुनी लडाइँ लडिन् ।
२०१८ मा एक न्यायाधीशको फैसलाले ती शिक्षिकालाई पुनः नियुक्ती गर्यो । तर, शिक्षा मन्त्रालयले यो निर्णयकोविरुद्ध अपिल गर्यो र गत हप्ता सर्वोच्च अदालतले यसलाई उल्टायो ।
मन्त्रालयले शिक्षिका आफ्नो २४ वर्षको सेवाअवधिमा २० वर्ष कक्षा बाहिर रहेको प्रमाण पेस गर्यो । मन्त्रालयले अदालतमा पेस गरेको प्रमाणमा शिक्षिका १० वर्ष पूरै अनुपस्थित र अन्य १४ वर्ष बिमारी, पारिवारिक र व्यक्तिगत कारण देखाइ अनुपस्थित हुने गरेको बतायो ।
सन् २०१५ मा चार महिनाको समय भेनिसको चिओगियामा पढाउँदा त्यहाँका विद्यार्थीहरूले शिक्षिकाको तयारी नपुगेको, पाठ्यपुस्तक ल्याउन असफल रहेको, कामचलाउ पढाउने र आनाकानी गर्ने उजुरी गरेका थिए ।
एउटा निरीक्षणमा उनी असावधान भएको र उनको कक्षा लिन विद्यार्थीहरूले नमानेको पाइएको थियो । किनभने उनी फोनमा व्यस्त हुने र पढाइदेखि ध्यान भङ्ग हुने गरेको विद्यार्थीहरूले बताएका थिए ।
उनको बर्खास्ती २०१७ मा एक कानुनी लडाइँमा बदलियो । अन्ततः सर्वाेच्च अदालतले अन्तिम निर्णय लियो ।
सर्वाेच्च अदालतले विद्यार्थीलाई पढ्ने अधिकारको सुरक्षा दिनु शिक्षकको दायित्व हो भन्दै शिक्षिकाको ‘शिक्षण स्वतन्त्रता’ मागलाई बर्खास्त गरिदिएको छ ।
उनी आफूलाई एक स्वतन्त्र पत्रकार बताउँदै इटालियन मिडियालाई उक्त विषयलाई खण्डन गर्न आफूसँग पर्याप्त प्रमाण भएको बताएकी छन् । तर, शिक्षा मन्त्रालयले भने शिक्षा गतिविधि सुहाउँदो व्यावसायिकताको साथ गर्नुपर्ने बताएको छ ।