
काठमाडौं— कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि अपराह्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
कोशी प्रदेशमा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, तत्कालीन एमाले–माओवादी गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिँदा संकटमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गरी ४६ मत छ, भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ ।
एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न हुँदा एमालेले राप्रपाको समर्थनमा कोशीमा सरकार जोगाउने प्रयत्न गरिरहँदा जसपा नेपालको निर्णयक समर्थन पाउने आशा राखेको छ ।
कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् । तर, आवश्यक ४७ मतमध्ये एक मतको पूर्तिका लागि वर्तमान गठबन्धन समर्थक दल जसपाले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा आफ्नो सरकार टिकाउन जसपा नेपालबाट विश्वासको मत पाउने अपेक्षा राखेको छ ।