काठमाडौं— नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए । ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो । हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ,’ उनले भने, ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’
उनले देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए । गुरु कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको उनले आरोप लगाए । ‘प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार । त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरू हुनै नसक्ने बताए ।