
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको तलब वृद्धि गर्न संस्थागत (निजी) विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
सामुदायिक विद्यालयका शिक्षकहरूको तुलनामा निजी विद्यालयका शिक्षकहरूको तलब न्यून भएको गुनासो आएको भन्दै मेयर साहले सामुदायिक विद्यालयका शिक्षक सहरकै तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा बालेन लेख्छन्,‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि/Private) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ ।’
मेयर साहले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ भन्रे स्मरण गराएका छन् ।
यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ भन्दै मेयर साहले सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकहरूलाई पनि प्राप्त गराउन सूचित गरेका छन् ।
उनले ताेकिएकाे तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सूची