News Griha :: न्यूजगृह
पहिरोले दैनिकजसो मध्यपहाडी लोकमार्ग अवरुद्ध 

पोखरा— मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको नागडाँडामा पहिराेका कारण दैनिकजसो सडक अवरुद्ध हुन थालेको छ । गत वर्ष सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डमा पहिराेले थप क्षति पुर्‍याएको हो ।

भासिएको सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । बर्सात हुनासाथ पहिराे खसेर यातायात सेवा प्रभावित हुने गरेको छ । केही दिनयता सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।

गत शनिबार हिलोमा मालबाहक ट्रक फसेपछि तीन दिनसम्म सवारीसाधन निर्वाधरूपमा चल्न पाएका थिएनन् । यात्रु घण्टौँसम्म जाममा परेका थिए । स्तरीय वैकल्पिक मार्गसमेत नहुँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न सकेनन् । पहिरो पन्छाएर ग्राबेल बिछ्याएपछि मंगलबार साँझदेखि एकतर्फीरूपमा सडक सञ्चालन गरिएको पाठकले बताए ।

‘यो वर्षायाममा समस्या हुने देखिएको छ, पानी पर्‍यो की पहिराे खस्छ, छेउतिर सडक भासिएको छ’,उनले भने,‘त्यहाँको समस्या पहिले देखिकै हो, दीर्घकालीनरूपमा पहिराे रोकथाम गर्नुपर्छ, बलियो तरिकाले सडकको पुनःनिर्माण गर्नुपर्छ ।’

सडक अवरुद्ध भइरहने अवस्था देखिएपछि दुई जना ट्राफिक प्रहरीलाई स्थलमै खटाइएको पाठकले बताए । अन्नपूर्ण गाउँपालिका–६ स्थित सडकको ८० मिटर सडक भासिएपछि लोकमार्ग आयोजनाले निर्माणका लागि ठेक्कामा लगाएको थियो ।

निर्माण कम्पनी ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमा काम नगर्दा समस्या निम्तिएको लोकमार्ग आयोजनाका इन्जिनियर अर्जुन पौडेलले बताए । उनका अनुसार यही असार मसान्तसम्मको सम्झौता भए पनि बल्ल २० प्रतिशत मात्र काम भएको छ ।

‘बर्सात लागेपछि पहिराे खस्ने र हिलाम्मे हुने हुँदा सवारीसाधन फस्ने समस्या भइरहेको छ’, इन्जिनियर पौडेलले भने,‘सडकमा ग्राबेल बिछ्याउने काम भइरहेको छ, पहिराे पन्छाउनका लागि उपकरण पनि तयारी अवस्थामा राखिएको छ ।’

नागडाँडाको भू–बनोट कमसल भएका कारण सडक भासिने र पहिराे खस्ने समस्या आइरहेको उनले जानकारी दिए । ‘नयाँ प्रविधि अपनाएर जगैदेखि रिटेनिङ पर्खाल लगाउँदैछौँ, निर्माण कम्पनीलाई पनि काम छिटो गर्न ताकेता गरिरहेका छौँ’, इन्जिनियर पौडेलले भने ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:३५
Weather Update