News Griha :: न्यूजगृह
रुसलाई चुनौती दिने ६२ वर्षीय येभ्गेनी प्रिगोजिन को हुन् ?

काठमाडौं— सन् २०२२ सेप्टेमबर २६ मा येभ्गेनी प्रिगोजिनले सन् २०१४ मे मा डनबास युद्धमा रुसी सेनालाई समर्थन गर्नको लागि वाग्नर लडाकु समूह स्थापना गरेको अभिव्यक्ति दिए ।

यो त्यही लडाकु समूह हो जसले रुसलाई युक्रेनविरुद्धको युद्धमा सहयोग गर्‍यो । तर, युक्रेनविरुद्धको युद्धमा सहयोग गरिरहेको वाग्नर लडाकु समूह किन रुसविरुद्ध विद्रोही भयो ? रुसलाई चुनौती दिने प्रिगोजिन प्रिगोजिन को हुन् ? अब हामी यहीँ बारे चर्चा गर्नेछौँ ।

६२ वर्षीय प्रिगोजिनको जन्म सन् १९६१ जुन १ मा सोभियत सङ्घको लेलिनग्राद अहिलेको सेन्ट पिटर्सबर्गमा भएको हो । उनकी श्रीमती ल्युगोभ वैलेन्टाइनोव्भना प्रिगोजिन हुन् र उनीहरूका तीन सन्तान छन् ।

प्रिगोजिन सानो छँदै बुबाको मृत्यु भयो । उनको आमाले दोस्रो विवाह गरिन् ।

विद्यार्थी जीवनमा प्रिगोजिन प्रोफेसनल क्रस–कन्ट्री स्कीयर बन्ने इच्छा राख्थे । प्रशिक्षक पनि रहेका सौतेला बुबाले प्रिगोजिनलाई यस खेलसम्बन्धी प्रशिक्षण दिए । यसका लागि उनको सौतेला बुबाले प्रतिष्ठित एथलेटिक्स बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए । जहाँ उनले १९७७ मा स्नातक सके तर, उनको खेल यात्रा भने असफल रह्यो ।

त्यसपछि प्रिगोजिनको जीवनले नयाँ मोड लियो । सन् १९७९ मा १८ वर्षको उमेरमै चोरीको आरोपमा उनी पक्राउ परे । फेरि १९८१ मा चोरी, डकैती र किशोरहरूलाई अपराधमा संलग्न गराउने आरोपमा उनले १२ वर्षको जेल सजाय पाए । यद्यपि, सन् १९८८ मा उनलाई तीन वर्षको सजाय माफ दिने निर्णय गरियो र १९९० मा नौ वर्षको जेल सजाय कटाएर उनी रिहा भए ।

जेलबाट छुटेपछि आफ्नो आमा र सौतेला बुबासँग मिलेर लेलिनग्रादको एक बजारमा हट डग बेच्न सुरु गरे । सोभियत सङ्घको पतनपछि प्रिगोजिनले व्यवसाय गर्ने सोच बनाए र उनी यसैमा लागे ।

सन् १९९१ देखि १९९७ सम्म उनले ग्रोसरी स्टोर व्यवसाय पनि चलाए ।

सन् १९९५ देखि भने उनी रेस्टरेन्ट व्यवसायमा प्रवेश गरे । उनले महँगो रेस्टुरेन्टहरूको सञ्जाल विस्तार गरे । प्रिगोजिनले आफ्नो एक रेस्टराँमा सन् २००१ मा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति जेक्स शिराकलाई खाना खुवाउने अवसर पाए ।

२००० को दशकमा प्रिगोजिनको पुटिनसँग नजिकको सम्बन्ध स्थापित भयो । यसपछि प्रिगोजिनले रुसी राज्यसँगको आफ्नो कारोबार विस्तार गर्न अवसर पाए । यसका साथै उनले क्रेम्लिनमा खानेकुरा उपलब्ध गराउने कामको जिम्मेवारी पनि पाए । यसपछि प्रिगोजिनले ‘पुटिन्स सेफ’ अर्थात् ‘पुटिनको भान्से’ को उपनाम पाए ।

रुसी सेनाले आफ्नो शिविरमा आक्रमण गरेको आरोप लगाउँदै जुन २४ मा वाग्नर लडाकु समूहका प्रमुख प्रिगोजिन प्रिगोजिनले रुसविरुद्ध विद्रोहको आह्वान गरे । यसले रुसमा तनावको अवस्था सृजना गर्‍यो । योसँगै रुसले प्रिगोजिनविरुद्ध विद्रोहको आरोप लगाउँदै अनुसन्धान र कारबाही गर्न अघि बढेको थियो ।

बेलारुसको मध्यस्थतापछि प्रिगोजिन आफ्ना लडाकु सेनालाई फिर्ता बोलाउन तयार भए । घटनाको २४ घण्टा नबित्दै वाग्नर समूह विद्रोहदेखि पछि हट्यो भने रुसले प्रिगोजिन र उनका लडाकु समूहबीच कुनै कारबाही नगर्ने सहमति जनायो ।

वाग्नर लडाकुलाई रुसी रक्षा मन्त्रालयअन्तर्गत राख्ने गरी सहमति गर्ने सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यही विषयमा प्रिगोजिन रुससँग आक्रोशित भएका थिए ।

यो समूहलाई पीएमसी अर्थात् वाग्नर प्राइभेट मिलिटरी कम्पनी भनिन्छ । यो रुसी अर्धसैनिक संगठन हो । यो लडाकु समूह सन् २०१४ मा पूर्व रुसी सशस्त्र बल जेनेरल स्टाफ सङ्घ (जीआरयू) को अधिकारी दमित्री उत्किन र व्यवसायी प्रिगोजिन प्रिगोजिनले स्थापना गरेका थिए । यस समूहमा प्रिगोजिनको भूमिकाबारे गोप्य राखिएको थियो । एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:२२
Weather Update