
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन आएपछि सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका सुविधासम्बन्धी सवाल सम्बोधन हुने बताएका छन् ।
मंगलबारको संसद् बैठक (१२ असार) मा विनियोजन विधेयक, २०८० अन्तर्गतको मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले यसकाे गृहकार्य भइरहेको जनाए ।
उनी भन्छन्,‘सामुदायिक विद्यालयमा बालविकास शिक्षक र विद्यालय कर्मचारीको सुविधावृद्धिको मागसहित भएको आन्दोलनलाई सम्बोधन गर्न चार सदस्यीय वार्ता समिति गठन भई समस्या समाधानका लागि पहल भइरहेको र वार्ताको निष्कर्ष बमोजिम कार्यान्वयनका लागि मन्त्रालयले काम गर्छ ।’

उनले शैक्षिक सुधार र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि तीन तहका सरकारसँगको समन्वय वृद्धि र सुशासन कायम गर्न विभिन्न कार्यक्रम र रणनीति कार्यान्वयनमा ल्याइएको पनि स्पष्ट पारे ।
मन्त्री राईले आगामी आर्थिक वर्षमा कूल बजेटको ११ दशमलव शून्य २७ प्रतिशत बजेट रहनु पर्याप्त नभए पनि उपलब्ध स्रोतको परिधिभित्र रही शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने जनाए ।
उनले विद्यालय तहदेखि नै कृषि क्षेत्रमा आकर्षण दिलाउन ‘सिक्दै कमाउँदै’ कार्यक्रमलाई थप ५० विद्यालयमा विस्तार गरिने समेत बताए । उनले विद्यालय तहबाट गणित, इञ्जिनियरिङ, विज्ञान, कलालगायतका विषयमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने स्पष्ट गरे ।