News Griha :: न्यूजगृह
सरकार र विद्यालय कर्मचारीबीच सिंहदरबारमा वार्ता जारी

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्ता केही बेरअघि सुरु भएको आन्दोलन परिचालन केन्द्रीय समिति सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले जानकारी दिए ।

आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच यो दोस्रो चरणको वार्ता हो । वार्ता सकारात्मक उन्मुख भइरहेको यादवले जानकारी दिए ।

सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि शर्माको संयोजकत्वमा वार्ता समिति बनाएको छ भने विद्यालय कर्मचारीबाट अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी, मुकेशकुमार यादवलगायत छन् ।

तलब, सेवासुविधा, दरबन्दी, पेसागत स्थायित्वलगायतका माग गर्दै विद्यालय कर्मचारीहरू तीन हप्तादेखि काठमाडौंको माइतीघर मण्डलामा रिले अनशनमा छन् ।

आइतबार विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर माग र आन्दोलनबारे ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:४५
Weather Update