News Griha :: न्यूजगृह
मन्त्रीहरूसँग अध्यक्ष तिमिल्सिनाको गुनासो : रिबन काट्न दौडिने, संसद्मा जवाफ दिनुपरे भाग्ने ?

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको बताएका छन् । 

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसद्मा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताए । उनले समितिले दिएका निर्देशनहरू सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरूमा बढी हाबी हुने गरेको उल्लेख गरे । 

अध्यक्ष तिमिल्सिनाले सांसदहरू मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने गरेको बताए । 

संसद् र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको उनको भनाइ छ । ‘रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसद्मा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ,’ उनले भने । 

अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधरताले संसद्लाई बलियो बनाउन लाग्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:५२
Weather Update