
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो आवश्यकता औँल्याएका हुन् ।
मन्त्री राईले शिक्षा क्षेत्रको सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सबलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको दाबी समेत गरे ।
मन्त्री राईले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति गराउने कुरालाई सरकारले विशेष प्राथमिकता दिएको समेत बताए ।