News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई स्वागत र बिदाइ गर्न तीन जनामात्र जान पाइने 
फाइल तस्बिर ।

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा बिदाई गर्न अब तीन जना मात्र जान पाइने भएको छ । 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै एक जना यात्रुका लागि तीन जना मात्र आफन्तजन तथा मित्रहरू उपस्थित हुन पाइने जानकारी दिएको छ । 

विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेको र टर्मिनल भवन बाहिर सीमित स्थान भएकाले व्यस्त समयमा यात्रुको आफन्तजनको भिडभाडले सवारी ट्राफिक व्यवस्थानपनमा कठिनाइ भएको भन्दै कार्यालयले उक्त सूचना जारी गरेको हो ।

‘आफन्तजनको भिडभाडले दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरूको सहज अवातजावतमा अवरोध सृजना भइ यात्रु सेवा सुविधामा प्रवाहमा समेत प्रतिकूल असर परिरहेकाले यस समस्यालाई मध्यनजर गर्दै अब उपरान्त स्वागत तथा बिदाइ गर्न आउने आफन्त तथा मित्रजनहरूको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको लागि बढीमा तीन जना आफन्तजन आइ स्वागत तथा बिदाइ गरी भिडभाड नियन्त्रण गर्न सहयोग गरिदिन अपिल गरेको हो,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार कार्यालयले उक्त सूचना प्रकाशित गरेको हो । 

TIA notice Asar 12--1687859804.jpg

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:४४
Weather Update