
काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दाबी गरेका छन् ।
न्यायाधीश नियुक्तीमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भइरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मन्त्री गुरुङले संविधानले नै प्रदत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरू नियुक्ती हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकीर समेत गरे ।
मंगलबार प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए ।
मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरू नियुक्त नभएको बताए । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरू फर्छ्यौट हुने गरेको भनाइमा पनि सत्यता नरहेको उनले बताए । सर्वोच्च अदालतको आफ्नै प्रक्रिया भित्रबाट मुद्दाहरूको छिनाफानो हुने गरेको मन्त्री गुरुङको भनाइ छ ।