News Griha :: न्यूजगृह
विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री राई

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४औँ वार्षिक दिवसमा उनले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए । 

उनले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालिरहेको र सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्न समेत ध्यानाकर्षण गराए । 

उनले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभइ सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताए । ‘अराजक, गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन,’ उनले भने । 

मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रूपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताए । 

उनले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरू समयसापेक्ष परिमार्जन गर्ने, विश्वविद्यालयको अध्ययन, अुनसन्धानलाई प्रविधिमैत्री बनाउने र ठूलो सङ्ख्यामा उच्च शिक्षका लागि विदेशीने क्रमलाई देशमै अवसर प्रदान गरी रोक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:३६
Weather Update