काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए ।
‘देशभरिका क्याम्पसमा उत्साजनक रूपमा उम्मेदवारी दर्ता भएका छन्’ उनले भने, ‘केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र सम्वाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौँ ।’
स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो । आज बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी संगठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।
उम्मेदवारको नामावली उपर दाबी विरोध भोलि फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।
उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।













