News Griha :: न्यूजगृह
कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : डा. शशांक कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् । 

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर, पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ,’ उनले भने । 

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे । 

उनले १५औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ ? भन्ने कुराको टुङ्गो लाग्ने बताए । १५औँ महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको उनको भनाइ छ । 

‘१५औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरू सम्भव लाग्दैन,’ उनले भने, ‘१५औँ महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने । एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’

सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरूको आग्रहलाई सुन्ने बताए । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:३०
Weather Update