काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् ।
उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटकपटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिए ।
उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।’
धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको सोमबार भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए ।
उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए ।