News Griha :: न्यूजगृह
बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएकोमा माफी समेत मागे । बजेटको सिलिङ कम भएका कारण सांसदहरूले दिएका धेरै योजनाहरू समेट्न नसकेको उनको भनाइ छ । ‘धरै योजनाहरू अटाउनै सकिएन । सबैको चित्त प्रशन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वभाविक रूपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु,’ उनले भने । 

मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरू समावेश गरिएको  बताए । त्यस्तै, प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्नेगरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे । 

उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिएको जानकारी दिए । 

मन्त्री किरातीले विमानस्थल थप्नेभन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:११
Weather Update