News Griha :: न्यूजगृह
बजेटको अभावमा सेनाले जिम्मेवारी पाएको सडक निर्माण कार्य समयमै सम्पन्न भएन : उपप्रधानमन्त्री खड्का

काठमाडौं— उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता समेत व्यक्त गरे । सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ छ । 

उनले सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर सरकारले जलविद्युत् आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताए । 

उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताए । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:१२
Weather Update