
काठमाडौं— भारतको उत्तरी मणिपुर राज्यमा ५४ दिनदेखि जारी हिंसात्मक द्वन्द्वमा एक सय ३१ जनाको मृत्यु भएको छ ।
मणिपुरको मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक द्वन्द्वमा चार सय जनाभन्दा बढी घाइते भएका छन् । यस्तै, ५० हजार मानिसले आफ्नो घर छाडेका छन् । उनीहरूले ३५० राहत शिविरमा शरण लिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
मणिपुरमा फैलिएको हिंसा नियन्त्रण गर्न भारतीय सेना, अर्धसैनिक बल र प्रहरी गरी ४० हजार सुरक्षाकर्मी खटिएका छन् । उक्त सुरक्षा बलले पनि हिंसात्मक द्वन्द्वलाई नियन्त्रण गर्न नसकेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
मणिपुरको उच्च अदालतले अप्रिल १९ मा मैतेई समुदायलाई जनजाति श्रेणीमा सहभागी गर्न केन्द्र सरकारलाई आदेश दिएको थियो । अदालतको यही आदेशविरुद्ध कुकी समुदाय विरोधमा उत्रिएपछि हिंसात्मक द्वन्द्वको रूप लिएको हो ।
अधिकांश मैतेईहरू हिन्दु हुन् भने कुकी समुदाय ईसाई धर्म मान्छन् । मणिपुरमा मैतेई र कुकी समुदायबीचको द्वन्द्वले धार्मिक रूप लिँदा २ सय ५० भन्दा बढी चर्च र मन्दिरहरू भत्काइएका छन् ।
मणिपुरको जनसङ्ख्या सन् २०११ को अनुसार २८ लाख ५५ हजार ७ सय ९४ छ । मणिपुरमा मैतेई भाषा बोल्ने जनसङ्ख्या ५३.३० प्रतिशत छ । सबैभन्दा बढी जनसङ्ख्या पनि मैतेई समुदायको छ ।
मणिपुरमा ३० प्रतिशत कुकी समुदाय छन् । उनीहरू मणिपुरको ९० प्रतिशत हिस्सामा बसोबास गर्छन् ।
मणिपुरको राज्य सभामा निर्वाचित ६० विधायकमध्ये ४० जना मैतेई समुदायका छन् । १० जना कुकी समुदायका छन् भने बाँकी नागा समुदायका छन् । उनीहरू पहाडी भेगमा बसोबास गर्छन् ।
वास्तवमा मणिपुरमा जमिनको लागि ठूलो खिचातानी छ । राज्यको ६० प्रतिशत जनसङ्ख्या राजधानी इम्फाल उपत्यकामा बसोबास गर्छन् ।
आपूm र जनजातिको मान्यता नपाएका अन्य मानिसले पहाडी भेगमा जग्गा किन्न र त्यहाँ बसोबास गर्न नपाउने भएकाले मैतेई समुदाय असुन्तष्ट छन् ।
कुकी समुदायमा गाउँको मुखियाको जेठो छोराले जमिनको स्वामित्व अंशमा पाउने चलन छ । उक्त समुदायका मानिसहरू ठूलो क्षेत्रमा बसाइँसराइ गर्छन् र मुखियाका अन्य पुरुष सदस्यले नयाँ ठाउँमा बस्ती बसाउँछन् । यसले पनि जमिनको ठूलो माग रहेको छ ।