News Griha :: न्यूजगृह
विधान मस्यौदामाथि सुझाव संकलन गर्दै जसपा

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टी विधानको मस्यौदामाथि सुझाव संकलन कार्यलाई तीव्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ ।

जसपाले चैत्र २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार मधेस प्रदेशको कलैया, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिबार छलफल गरेको छ ।

लुम्बिनी प्रदेशले सोमबार र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम गर्ने भएका छन् ।

प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ संगठनका पदाधिकारी सहभागी हुने गरेका छन् ।

यसैगरी ट्रेड युनियन महासंघले आज, चैत्र १३ गते भ्रातृसंगठन, बौद्धिक पेसाकर्मी महासंघले १४ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:४३
Weather Update