News Griha :: न्यूजगृह
आज कहाँ कहाँ छ बाढीको जोखिम ? 

काठमाडौं— देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूमा पानीको बहाब बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य अवस्थामा रहेको जनाएको छ ।

सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा आकस्मिक  बहाबको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन  महाशाखाले आग्रह गरेको छ ।

पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने  केही नदीहरूमा बहाब  बढ्न सक्ने महाशाखाको भनाइ छ ।

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०९:०३
Weather Update