
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।
डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले आफ्ना आफ्ना धारणा राखेका थिए ।
विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक सांसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । 'मान्य सदस्यहरू, अब म राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्दछु, यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला', उनले भने 'यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला । हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।'
राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।













