News Griha :: न्यूजगृह
एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काले मागे माफी

काठमाडौं— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेका छन् । 

एमाले सचेतक महेश बर्ताैलाले प्रतिनिधिसभाको आइतबारको बैठकमा नियमापत्ति जनाएपछि खड्काले गल्ती स्वीकार गर्दै माफ मागेका हुन् । 

प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका सांसदबाट त्यसको उलंघन गर्ने काम भएको भनेर सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन् । 

बर्तौलाले सत्तारूढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको समेत बताएका थिए । 'यो हाउसमा पटक-पटक मर्यादा विपरीत काम भइरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन', उनले भने, 'पटक पटक यो संसद्को गरिमा र महत्त्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ । सत्ता पक्षका माननीयज्यूहरूबाट यस प्रकारको काम भइरहेको छ । म गम्भीरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस् ।'

सचेतक बर्तौलाले नियमापत्ति जनाएलगत्तै, सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन खड्कालाई सचेत गराएका थिए । सोही विषयमा सभामुखसँग समय माग गरेर उनले अनदेखाको कारणले आफूले नियमावलीको त्यो दफाको उल्लंघ गरेको भन्दै माफी मागेका थिए । 

उपसभापति खड्काले भने, 'अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भएअनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।'

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:५४
Weather Update