सरकार फेरबदलको चर्चा
एमाले र कांग्रेसको प्रभावकारी सरकार जनताले चाहेका छन् : रघुजी पन्त
काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले मौका आए एमालले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
आइतबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको अहिलेको कामसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली कांग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने चाहना रहेको बताए ।
उनले नीति तथा कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताए । उनले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैं असन्तुष्टि पोख्दै सरकार ढल्ने बताए ।
उनले भने,‘नीति तथा कार्यक्रम र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ । यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरुको अन्तरविरोधबाटै सरकार ढल्छ । सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । मौका आए एमालेले सरकारको नेतृत्व गर्न छोड्नु हुँदैन ।’
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १९:१९