News Griha :: न्यूजगृह
कांग्रेसका दिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन आठ दलको दाबी

काठमाडौं— लुम्बिनी प्रदेशमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन आठ दलले दाबी पेश गरेका छन् । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिन एक महिना समय बाँकी हुँदाहुँदै पनि आइतबार आठ दलले नयाँ मुख्यमन्त्री नियुक्त गर्नका निम्ति प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । 

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनमा रहेका आठ दलले आइतबार कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन् ।

आठ दलले संविधानको धारा १६८ (२) बमोजिम चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका हुन् । 'लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय डिल्लीबहादुर चौधरीलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिपाऊँ भनी हामी लुम्बिनी प्रदेश सभामा रहेका तपसिलमा उल्लेखित राजनीतिक दलका नेता तथा लुम्बिनी प्रदेश सभाको बहुमत प्रदेश सभा सदस्यहरूको हस्ताक्षर समेतका कागजात सहित यो निवेदन पेश गरेका छौं', आठ दलले पेश गरेको दाबीमा भनिएको छ ।

कांग्रेस संसदीय दलका नेता चौधरीसँगै नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी) का भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले दाबी पेश गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

लुम्बिनी प्रदेश सभामा अहिले कुनै पनि दलको बहुमत छैन । उनीहरूले दाबी पेश गरे पनि संवैधानिक व्यवस्थाअनुसार, प्रदेश प्रमुख शेरचनले अहिले नै नयाँ मुख्यमन्त्री नियुक्त गर्न पाउँदैनन् । 

मुख्यमन्त्री गिरीले प्रदेशबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै प्रदेश प्रमुख नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।  सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । 

गिरी सरकारमा सहभागी माओवादी र जनमत पार्टीका मन्त्रीले आइतबार नै राजीनामा दिएका थिए । दुवै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:२७
Weather Update