News Griha :: न्यूजगृह
दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : कृषिमन्त्री भुसाल 

काठमाडौं— कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् । 

आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा कृषिमन्त्री डा. भुसाललेसरकारले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उद्देश्य अनुसार काम गर्न नसकेको बताए । 

दुग्ध विकास बोर्ड दुधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको उनको भनाइ छ । उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए । 

सरकार दुध विकासको पक्षमा रहेको भन्दै  दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने उनको भनाइ छ । उनले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको उल्लेख गरे । 

उनले सरकारले दुध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए । सरकारले नस्ल सुधार गरी दुधको विकास गर्नेतर्फ प्रतिबद्ध रहेको उनको भनाइ छ । बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरू आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । सरकराले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनःसंरचना गर्न खोजेको मन्त्री भुसालले जिकिर गरे । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:०६
Weather Update