
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धानले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुरविष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नदीजन्य वस्तुको रोयल्टी सम्बन्धी ठेक्कामा भ्रष्टाचार भएको भन्दै मेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै, आयोगले वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, हिमालय सिंह ऐर, हरिसिंह धामी, नरबहादुर शाह, गोविन्दराज उपाध्याय तथा ठेकेदार केशवराज भट्ट, पुष्पराज भट्ट, दिवाकर भट्ट र ईश्वरीप्रसाद भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा महाकाली नदीबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो उत्खननसम्बन्धी ठेक्कामा कबोल अङ्क कम देखाएर, राजस्व रकम कम निर्धारण गरेर सम्झौता गरेको अख्तियारको दाबी छ । उनीहरूले ३ करोड ३३ लाख २२ हजार राजश्व चुहावट गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले विष्ट र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध ३ करोड ३३ लाख २२ हजार बिगो माग गरेको छ । त्यस्तै तत्कालीन निमित्त प्रशासकीय अधिकृत जोशीसँग २ करोड ११ लाख ६५ हजार रुपैयाँ बिगो माग गरेको छ ।













