News Griha :: न्यूजगृह
जसपाको विधान अधिवेशन सुरु

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरे । 

अधिवेशन तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ । 

यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:०६
Weather Update