News Griha :: न्यूजगृह
प्रतिपक्ष विरोधाभासमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधाभासमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने उनको भनाइ छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सहीलाई सही भन्न सक्ने गरी राजनीतिक दलहरू अघि बढे मात्रै मुलुकको लोकतन्त्रको औचित्य पुष्टि गर्न सकिने बताए । 

उनले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई आफूले शून्यमा झारिदिएको दाबी गरे । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको लोकतन्त्र मौलिक खालको भएको उल्लेख गर्दै त्यसलाई उन्नत ढंगले अघि बढाउने विषयमा राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै अघि बढनुपर्ने आवश्यक्ता औँल्याए । 

अर्को प्रसंगमा उपप्रधानमन्त्री श्रेष्ठले वर्षात्का कारण हुने विपद् जोखिम न्यूनीकरणका लागि सरकारले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा राखेको दाबी गरेका छन् । 

त्यसका लागि आवश्यक लगानी र साधनको व्यवस्थापन गर्ने कार्यलाई पनि सरकारले तीव्रता दिएको उनको भनाइ छ । 

उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिहरूलाई पनि सक्रिय बनाइएको बताए । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:०४
Weather Update