
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताए ।
‘आर्थिक अवस्था देशको जुन छ, त्यो अवस्था सुधार गर्नको निमित्त हामी सबैले संकल्प गर्नुपर्छ । साझा विषयको रुपमा आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सामूहिक संकल्पको साझा विषयको रूपमा हामी पक्ष र प्रतिपक्षमा बाँडिने अवस्था देशमा छैन,’ उनले भने, ‘देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त हामी सामूहिक रूपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता छ ।’
सांसद पौडेलले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताए ।
बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभइ देशकै विषय रहेको उनको भनाइ छ ।
उनले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरूको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।