News Griha :: न्यूजगृह
उपराष्ट्रपति पद आवश्यक छैन : सांसद झा
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन् । उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाए । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने, ‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात् आजसम्म ५ हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तिनवटा अनुहार । त्यो हेर्दैगर्दाखेरि सम्झिनलायकको कुराहरू के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिनलायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ? यसले दिएको हामीलाई ?,’ उनले भने, ‘त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ । त्यसैले गर्दा पनि हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ ।’

उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने बताए । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:२२
Weather Update