काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटलाई लिएर देखिएको असन्तुष्टि गलत नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक लेखकले बजेट पछ्यौरा जस्तो भएको भन्दै टाउकोमा ओढे खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने अवस्था रहेको बताए ।
‘बजेट आलोचनाको विषय बनेको छ, जाडोको समयमा एउटा पछ्यौरा टाउकोमा ओढे खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने हुन्छ त्यस्तो अवस्था छ । त्यसो हुदाँ राजस्वको स्थिति र आवश्यकताको बीचमा जुन तालमेल छैन । त्यसले एउटा असन्तुष्टि आएको छ,’ उनले भने ।
प्रमुख सचेतक लेखकले संसद कानुन निमार्ण गर्ने हो कि विकास गर्ने भन्ने विषयमा पनि आलोचना भएको चर्चा गर्दै मत माग्दा विकास गर्छु भनेर माग्ने सदनमा आउँदा कानुन बनाउने यो विषयमा पनि ध्यान दिनु पर्ने अवस्था आएको बताए ।
उनले भने, ‘बजेटको सन्दर्भमा सदनको भूमिका निर्धारण गर्न जरुरी छ । यो अवधारणाका साथ अगाडि बढ्न जरुरी छ, बजेट सदनमा प्रस्तुत भएपछि त्यसमा सदनको भूमिका खोज्छ आफ्नो भूमिका निर्धारण गर्छ । यसलाई परिमार्जन गरेर अन्तिम रूप दिन्छ र दिनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्नुपर्छ ।’
प्रमुख सचेतक लेखकले बजेटमा सदनमा कुनै पनि संशोधन हुन सक्दैन भन्ने मान्यतालाई अब परिवर्तन गरेर बजेटमाथि पनि छलफल गरेर सदनले आफ्नो भूमिका निर्वाह गर्छ भन्ने मान्यता स्थापित गर्नुपर्ने बताए ।
‘बजेटलाई परिमार्जन गरेर अगाडि जान सक्छ भन्ने मान्यता राखिनु पर्छ, हामीले अर्को बजेट आउनुभन्दा पहिला नै आगामी दिनमा प्रतिनिधि सभामा संशोधन गरौँ । संशोधन गरेर अहिलेको बजेटका सम्बन्धमा जुन व्यवस्था छ । त्यो व्यवस्थालाई परिमार्जन गरेर बजेटमा पनि संसद्को भूमिका खोज्ने र त्यहीअनुसार बजेट परिवर्तन गरेर लान सकिन्छ,’ उनले भने ।
सांसद लेखकले आलोचना भए पनि बजेट पारित गर्नुपर्ने उल्लेख गर्दै त्यसलाई असफल पारिए राज्य र दैनिक कार्य अगाडि बढ्न नसक्ने बताए ।
बजेटको परिमार्जनको विषयमा सदनको भूमिकालाई निर्धारण गर्ने गरी अगाडि बढ्नुपर्ने बताउँदै उनले यो बजेटलाई पारित गरेर जाने विषयमा नै कांग्रेस स्पष्ट रहेको प्रष्ट पारे ।