काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद पन्तले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग हो । यो बजेट विनियोजन औचित्यपूर्ण छैन । राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग हुन थालेको छ ।’
उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताए । उनले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री मन्त्रिपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिर गरे । उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिनका लागि सल्लाहकार राखेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।
उनले उपराष्ट्रपति राष्ट्रिय सभाको पदेन अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । ‘उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्छ । यसमा हामी खर्च घटाउने गरी संशोधनमा राष्ट्रिय सहमति गरौँ,’ उनले भने ।