News Griha :: न्यूजगृह
जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग 

काठमाडौं— सांसद अमरेश सिंहले आम नागरिक राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा उनले देशमा जनताको आवश्यकताभन्दा राष्ट्रपति भवन, उपचार जस्ता सुविधा बढी प्राथमिकतामा परेको भन्दै भीआईपी परम्परा हटाउनु पर्ने बताए ।

‘जनताको आवश्यकतालाई कहिले पनि ध्यान दिएनौँ हामीले । राष्ट्रपतिको भवन सानो छ, प्रहरी भवन भत्काएर पनि त्यहाँ हेलिप्याड बनाउ, निवासमा नै बनाउनु के आवश्यकता छ ?,’ उनले भने, ‘हामीले राष्ट्रपतिको उपराष्ट्रपतिको गाडी पुरानो भयो नयाँ गाडी किनौँ, प्रधानमन्त्रीको एउटा गाडी थियो अहिले त्यो गाडी बिग्रियो भने भनेर अर्को गाडी पनि सँगै हिनेको हुन्छ । हाम्रो देशमा भीआईपीहरू प्राथमिकतामा प¥यो उहाँको उपचारदेखि सुविधा सबै तर, जनता प्राथमितामा परेन ।’

नेपाल जस्तो सानो मुलुकमा राजनीतिक पदहरूको निमार्ण गरेर जनताको करबाट भीआईपी परम्परा निमार्ण गरिएको भन्दै आक्रोश पोखेका सांसद सिंहले गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गएको बताए । 

‘हाम्रो मुलुक सानो छ ३ करोड मात्रै जनता छ, त्यहीमा धेरै पदहरू राखेर महँगो गाडी किन्ने, गाडीको अगाडि पछाडि सेना, प्रहरी र सशस्त्र तीन वटालाई नै राख्नु पर्ने यो भीआईपी परम्पराको अन्त्य हुनुप¥यो,’ उनले भने, ‘किनभने यही परम्पराले गर्दा नै आज गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । जनताको करबाट भीआईपीको परम्परा निमार्ण भयो ।’

राष्ट्रपति र उपराष्ट्रपति समेत सेतो हात्ती भएको उनको टिप्पणी छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:२६
Weather Update