काठमाडौं— असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् ।
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यतिबेला किसानहरू व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरू धान रोप्न व्यस्त छन् ।
उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाइँमा व्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बाट रोपाइँ शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरू रोपाइँको चटारोमा छन् । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाइँ भइसकेको किसानहरू बताउँछन् ।
सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरू यस वर्ष धान रोपाइँ छिटो भएपछि खुशीमा भएका छन् ।
खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेको उनीहरूको भनाइ छ । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी शुक्ला भन्ने डर र चिन्ताले किसानहरू डराएका छन् । धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरूको भनाइ छ ।