
काठमाडौं— आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछ ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार भेटघाटको समय तय भएको जानकारी दिए ।
वार्ताका लागि सरकारले समिति गठन गरे पनि उक्त समितिले काम गर्न नसक्दा विद्यालय कर्मचारीले प्रधानमन्त्रीलाई नै भेटेर माग सम्बोधनका लागि आग्रह गर्न लागेका हुन् ।
विद्यालय कर्मचारी परिषद्को एक टोली शनिबार पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण भेट हुन भने सकेन ।
प्रधानमन्त्री दाहालले अर्थ, कानुन र शिक्षा मन्त्रालयका प्रतिनिधिसँग विद्यालय कर्मचारीका मागका विषयमा छलफल गर्ने बुझिएको छ ।
विद्यालय कर्मचारी परिषद्ले शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर माग पूरा गरिदिन आग्रह गरेको थियो ।
विद्यालय कर्मचारी परिषद्ले सरकारलाई माग पूरा गर्नेगरी वार्तामा बोलाउन आग्रह गरेको छ । निष्कर्षबिहीन वार्ताको औचित्य नभएको र बस्नु पनि व्यर्थ भएको उसको भनाइ छ ।
विद्यालय कर्मचारीहरूले निजामती कर्मचारीसरह तलब सुविधाको माग गरेका छन् । विद्यालय सहायक (लेखापाल) लाई ३४ हजार ९०२ हुनुपर्ने, विद्यालय सहयोगी (का.स) २६ हजार ७०२ तलब हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
संघीय शिक्षा ऐन जारी हुँदासम्म अविच्छिन्न कार्यरत विद्यालय कर्मचारीलाई स्थायी गर्न एक पटकका लागि उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीहरूलाई शिक्षक सरहको सेवा सुविधा दिएर अवकाशमा पठाउनुपर्ने पनि उनीहरूको माग छ ।