News Griha :: न्यूजगृह
अधिकार माग्दा नागरिकको ज्यान जानु निन्दनीय छ, अमानवीय ज्यादती रोकियोस् : अशोक राई

काठमाडौं— जनता समाजवादी पार्टी नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भई ज्यान गएको बताए । नेता राईले त्यस्ता खालको अमानवीय ज्यादती रोक्न सरकारसँग माग समेत गरे । गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरू माथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता खालका घटना नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

'प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने निर्णयको विरोधमा संघर्षको कार्यक्रम चलिरहेको कुरा सर्वविदितै छ। विरोध कार्यक्रमको सिलसिलामा गएको चैत्र ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा बर्बर ढंगले प्रहरीको प्रहार हुने अवस्था देखियो। र, सो दिन प्रर्दशनकारीहरु मध्ये यो संयुक्त संघर्ष समितिका एक जना सक्रिय नेता पदमकुमार लिम्बुको उहाँ संघीय लिम्बुवान मञ्चका नेता पनि हुनुहुन्थ्यो', नेता राईले भने, 'उहाँको टाउको गम्भीर ढंगले लाठी प्रहार हुन गएको थियो। र, उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १० गते २ बजेर ४५ मिनेट जाँदा उहाँले सहादत प्राप्त गर्नु भएको छ। उहाँले देहत्याग गर्नु भएको छ। यो अत्यन्तै दुखद र गम्भीर घटना हुन गएको छ। यसप्रति सभामुखज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। प्रदेश नम्बर १ को सरकारको समेत ध्यानाकर्षण गराउन चाहन्छु।' 

मृतक लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरे । यस किसिमका दुखद घटनाको श्रृखंलाको अन्त कहीँ पनि नभएको भन्दै उनले मधेस आन्दोलनका क्रममा समेत थुप्रै जनाले सहादत प्राप्त गरेको स्मरण गरे । 

लिम्बुको हत्या हुनु अत्यन्तै निन्दनीय भएको भन्दै नेता राईले यस किसिमको ज्यादती रोक्न सरकारसँग आग्रह गरे। 'संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम जसलाई मधेस आन्दोलन भनिन्छ । त्यो सिलसिलामा ५९ जना सहिद भएका थिए । उनीहरूले आफ्नो अधिकारका निम्ति जीवन बलिदान गरेका थिए । त्यो श्रृखला रोकियोस् भन्ने हाम्रो चाहना हो । शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार माग्नु, आफ्नो पहिचान माग्नु उसको नैसर्गिक अधिकार हो', उनले भने, 'गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्बुको हत्या हुनु अत्यन्तै दुखद छ । निन्दनीय छ । तसर्थ, यस किसिमको ज्यादती रोक्न, अन्त्यका गर्नका निम्ति सरकारलाई म आग्रह गर्न चाहन्छु ।'

संघीय लिम्बुवान मञ्चका नेता समेत रहेका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो । चैत्र १० गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १४:१३
Weather Update