News Griha :: न्यूजगृह
वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रुसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा

मस्को— रुसमा वाग्नर लडाकू समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

‘हामी तपाईंलाई विवेकशील हुन र रुसी रक्षा मन्त्रालय वा कानुन प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौँ । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौँ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रुसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।

प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत विद्रोहको चेतावनीका थुप्रै श्रव्य सामग्री पोस्ट गरिएपछि यो अपिल आएको हो ।

रुसी समाचार संस्था तासका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रुसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ । 

यी घटनाहरूपछि मस्कोमा सुरक्षा उपायहरू उल्लेखनीय रूपमा सुदृढ गरिएको छ । अत्यावश्यक सुविधाहरू, राज्यका संस्थाहरू र यातायात पूर्वाधारहरूलाई उच्च सुरक्षामा राखिएको छ र प्रहरी र प्रतिकार्य एकाइहरू उच्च सतर्कतामा राखिएको तास समाचार एजेन्सीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:०५
Weather Update