
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा मन्त्रालयमा समस्याको धेरै ठूलो थुप्रो रहेको बताएका छन् ।
शनिबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिको अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले मन्त्रालयमा समस्याको थुप्रो रहेको भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहलाई काठमाडौंको फोहोर उठाउनभन्दा मन्त्रालयको समस्यालाई उठाएर फाल्न गाह्रो रहेको टिप्पणी गरे ।
उनले भने, ‘शिक्षा मन्त्रालयमा समस्याको धेरै ठूलो थुप्रो रहेछ । बालेन्द्र शाहलाई काठमाडौंको फोहोर उठाउन त्यति गाह्रो पर्या थिएन होला । यहाँको थुप्रो उठाउन डोजर चलाउन, समस्यालाई उठाएर लग्न त्यो भन्दा कठिन छ । तर, पनि म लागिरहेको छु ।’
उनले मन्त्रालयमा समस्या लिएर आउने हरेकले धम्की दिएर जाने गरेको बताउँदै भने, ‘शिक्षा मन्त्रालयमा आउने हरेकले एटा धम्की छोड्छन् । यो मेरो माग पूरा हुन्छ भने हुन्छ नत्र यही शिक्षामन्त्रालयको गेटमा धर्ना बस्छु, तालाबन्दी गर्छु भन्ने अवस्था बनेको रहेछ ।’
उनले आफू १७ वर्षपछि सत्ताको सदस्यको रूपमा मन्त्रालय जाँदा नकारात्मक परिवर्तन देखेको बताए ।