
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उनले भने, कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु । कम्तीमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईंहरूसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।’
उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क गरे ।
सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । ‘मैले बारम्बार भन्ने गरेको छु साथीहरूलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर हिजोअस्ति पनि भनेको थिएँ कि हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौँ । अरूले हामीलाई लडाउने तागतनै राख्दैन ।’
सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरूबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।