
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले अर्थमन्त्रीले ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको टिप्पणी गरेका छन् ।
धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रममा उनले अर्थमन्त्रीले ३ वटा जिल्लामा ४७ प्रतिशत र ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट राखेर ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको बताए ।
उनले भने, ‘धादिङलाई सडक, शिक्षा र रोजगारमा पछाडि पारिएको छ । ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम हाम्रो अर्थमन्त्रीले गर्नुभएको छ । ३ वटा जिल्लामा ४७ प्रतिशत अनि ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट बाँड्नु भएको छ । अपराधको पनि सीमा हुन्छ । हिजो मात्रै पनि सदनमा भनिएको छ । यसरी देश चल्दैन ।’
उपाध्यक्ष अर्यालले बजेट कुनै मन्त्री, सांसद र नेताको सम्पत्ति नभएको भन्दै सबै स्थानमा समान रूपमा बाँड्नुपर्ने बताए ।
उनले भने, ‘बजेट कसैको परिवारको घरको सम्पत्ति होइन, कुनै नेता कुनै मन्त्री कुनै सांसदको होइन । यो भाष्य परिवर्तन गर्नुपर्छ । कुनै मन्त्रीले मैले हालेको भन्छ भने उसले अपराध गरेको हो, आफ्नो ठाँउमा मात्रै बजेट हालेर । सबैलाई मिलाएर बजेट पार्नुपर्छ ।’
उनले अपराध नै अपराध भएको स्थानमा इमान्दार भएर काम गर्नु चुनौतीको विषय भए पनि इमान्दार भएर आफ्नो काम गर्ने बताए ।
रास्वपाले हतियार उठाउने, समाजमा नागरिकको अहित हुने काम नगरे पनि केही व्यक्तिका लागि आफूहरूको उपस्थिति असहज भएको उनले उल्लेख गरे ।