News Griha :: न्यूजगृह
म गाली गर्नै नहुने मान्छे होइन : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सामाजिक सञ्जालमा तल्लो स्तरमा उत्रेर टीकाटिप्पणी नर्गन सर्मथकलाई आग्रह गरेका छन् । 

शनिबार धादिङ काठमाडौं सम्पर्क विभागले गरेको अन्तरक्रिया कार्यक्रममा सभापति लामिछानेले पार्टीका नेताविरुद्ध गरिएका गालीगलौचविरुद्ध सामाजिक सञ्जालमा नराम्रो टीकाटिप्पणी गर्दा पार्टीलाई नै असर पर्ने भन्दै उनले रचनात्मक र संयमित बन्न आग्रह गरेका हुन् । 

‘कसैले मलाई गाली गर्‍यो भन्दैमा तपाईंले पिर मान्न पर्दैन । म गाली गर्नै नहुने मान्छे होइन । राजनीतिमा आइसकेपछी गाली र ताली सहनुपर्छ । तर, म र मेरा पार्टीका नेतालाई कसैले गाली गर्‍यो भन्दैमा तपाईंहरूले जाइलाग्न जरुरी छैन,’ उनले भने । 

‘हामीमाथी हाम्रा समर्थकहरू असहिष्णु छन् भनेर एकदमै धेरै आरोपहरू लगेका छन् । अब त्यो आरोपहरू खपेर बस्न सकिँदैन । तपाईंहरूले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया र समर्थन गर्ने तपाईं साथीहरूसँग मैले नगरे कसका अगाडि गर्ने ? यति बिन्ती तपाईंका अगाडि नगरे कसका अगाडि गर्ने ? पार्टी सभापतिको हिसाबले तपाईंहरूलाई अनुरोध छ, हामीले घृणा फैलाउने होइन, हामीविरुद्धका आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न,’ उनले थपे ।  

उनले इमानमा आफ्ना नेता रहेसम्म उनीहरूलाई समर्थन र बचाउनुपर्ने भन्दै आइलाग्ने माथि तल्लो स्तरमा गएर जाइलाग्ने भन्दा पनि शिष्ट र सभ्य आलोचकको रूपमा उदाहरण बन्न सामाजिक सञ्जालका समर्थकहरूलाई आग्रह गरे । 

त्यस्तै, उनले पार्टीले छ महिनाको छोटो अवधिमै राम्रो समर्थन (२१ सिट) सहित नेतृत्व गरिरहेको भन्दै आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सगरमाथा चढ्ने तयारीमा जुट्नुपर्ने बताए ।  

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:३९
Weather Update