
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीका कारण तलदेखि माथिसम्म गठबन्धन गर्नुपरेको उल्लेख गर्दै त्यसलाई बदल्नुपर्ने बताएका हुन् ।
‘अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ । जताततै प्रदेशमा तल, माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो,’ उनले भने, ‘हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर, निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ ।’