
काठमाडौं— नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा शनिबार बिहान १२:४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए । ब्लड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।
कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए । तर पराजित भए । लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार दिनभर काठमाडौं बौद्धस्थित तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।
लामाको दुई छोरा र चार छोरी छन् । विद्यार्थीकालमै कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए ।