मौसम
आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं— हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बाढी, पहिरो, डुबानका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने पनि महाशाखाले आकलन गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० ०७:०७