News Griha :: न्यूजगृह
केपी ओली कांग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेपाली कांग्रेसलाई प्रभावित पारेर ‘कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु’ जस्ता अभिव्यक्ति ओलीले दिइरहेको आरोप लगाए ।

उनले भने,‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईंहरुले सुनिरहनुभएको छ । केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन् । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला । अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन् ।’

उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्त्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गरे । उनले भने,‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्त्वपूर्ण शक्तिको रुपमा उदाएको छ ।’

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:५८
Weather Update