
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) का माग तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
शुक्रबार बसेको संसद् बैठकको सुरुमै समय लिएर बोल्दै पौडेलले नेपाल शिक्षक महासंघसँग सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
उनले शिक्षक र कर्मचारीका मागका विषयमा सरकार गम्भीर हुन नसकेको पनि बताए । शिक्षक कर्मचारीका समस्या समाधान गरे मात्र शैक्षिक सुधार हुने उनकाे भनाइ छ ।
उनले भने, ‘विद्यालय सुधारका निम्ति महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका शिक्षक र कर्मचारीको समस्या समाधान गरेर मात्र सार्वजनिक विद्यालय सुधार हुन सक्छ । २०७८ फागुन ९ गते नेपाल शिक्षक महासंघसँग ५१ बुँदे सहमति भएको थियो । २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यस प्रकारका समस्या समाधान गर्ने प्रतिबद्धता गरिएको थियो । आजसम्म त्यस प्रकारका समस्याको हल नहुनु र विद्यालयका विषयमा शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठ्दा पनि शिक्षकका समस्या समाधान नहुनु भनेको गम्भीर कुरा हो ।’
ईसीडी शिक्षकका समस्याबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले भने,‘ईसीडी शिक्षकका समस्या समाधान गरेर सार्वजनिक विद्यालयलाई सुधार्ने अभियानमा अघि बढ्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’