News Griha :: न्यूजगृह
शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने

नेपालको परम्परागत कूटनीति र प्रशासनमा शोभागजङ्ग थापाको पहिचान बेग्लै छ । सन् १९०८ मा प्रधानमन्त्री चन्द्रशमशेरले संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण गर्दा उक्त दलका प्रमुख सदस्य तथा सन् १९३३ मा निर्णय भएअनुसार १९३४ मा नेपालको दिल्लीस्थित कूटनीतिक कार्यालयलाई महावाणिज्य दूतावासमा स्तरवृद्धि गर्नुअघि त्यहाँ नेपालका प्रतिनिधि रिप्रिजेन्टेटिभ वा आन्भ्वाय (महावाणिज्यदूत नियुक्ति हुनुअघि भनिने दर्जा) वकिल भइ सेवा गर्ने तीन अन्तिम प्रतिनिधिमा कमान्डिङ कर्णेल चन्द्रजङ्ग थापा र पद्मकुमारी थापाका छोरा थिए, शोभाजङ्ग । बाबु चन्द्रजङ्ग थापा दिल्लीस्थित कूटनीतिक कार्यालयका प्रमुख रहँदा शोभागजङ्ग थापा नियोग उपप्रमुख र आफ्नो अवधि पूरा गरी बाबु फर्केपछि उनी अन्तिम प्रमुख भएका थिए । 

शक्ति केन्द्रसँग पहुँचवाला भारदारहरूमध्ये चन्द्रजङ्ग थापा एकताका नेपालका निकै धनी, ज्यादै प्रभावशाली र प्रधानमन्त्री चन्द्रशमशेरका नाता र एक्का(१) भएका कारण उनको चाकडी गर्नेहरूको कमी थिएन । चन्द्रजङ्ग थापा(२)का भाइ गजराजजङ्ग थापा(३) यसअघि दिल्लीस्थित कूटनीतिक नियोगका प्रमुख थिए । अङ्ग्रेजी माध्यममा शिक्षा प्राप्त गर्ने नेपालका पहिलो तीन जना स्नातकमध्ये पर्ने गजराजजङ्ग थापा(४)लाई उक्त पदमा नियुक्त गर्नुअघि धेरै वर्ष विशेषगरी राणा परिवारका सदस्यहरू मात्र पठाइने चलन थियो ।(५) यस अर्थमा काठमाडौं नक्साल भगवती बहालमा जन्मिएका शोभागजङ्ग थापाको परिवारमा परम्परागत रूपमा नेपाली कूटनीतिक नियोगमा गर्नुपर्ने काम र त्यसको प्रकृतिबारे धेरथोर जानकारी र अनुभव थियो ।

अर्को रमाइलो कुरा के थियो भने सेनामा क्याप्टेन पदमा नियुक्त भएको केही वर्षभित्रै मेजर पदमा बढुवा(६) गरी प्रधानमन्त्री भीमशमशेरका पालामा शोभागजङ्ग थापालाई आफ्ना बाबु कमान्डिङ कर्णेल चन्द्रजङ्ग थापाका सहयोगी भइ काम गर्न नयाँदिल्ली खटाइएको थियो । नेपालले हालसम्म कुनै पनि कूटनीतिक नियोगमा बाबुलाई प्रमुख र छोरालाई निजका सहयोगी वा उपप्रमुखमा खटाएको यो एक बिरलै घटना थियो । 

Prabhu Bank

अर्काे उल्लेखनीय पक्ष के थियो भने दिल्लीबाट सरकारी र राजनीतिक प्रतिवेदन नेपाल सरकारसमक्ष पठाउने क्रममा धेरैजसो लेखापढी नियोग प्रमुख र उपनियोग प्रमुख रहेका बाबुछोरा दुवैको हस्ताक्षर हुने गरेको पाइन्छ । यसबाट सुरुको छोटो अवधिमा सेनामा काम गरेको समयबाहेक कूटनीतिक पेसाबाट आफ्नो सेवा उनले सुरु गरेको देखिन्छ । नियमित अवधि सकिएसँगै आफ्ना बाबुलाई काठमाडौं बोलाइएपछि उनलाई नै नयाँदिल्लीस्थित कूटनीतिक कार्यालयको प्रमुखका रूपमा नियुक्त गरियो । २१ वर्षको उमेरमा दिल्लीमा नियोग प्रमुख हुने सौभाग्य पाएका थापा उक्त कार्यालयको स्तरवृद्धि गरी महावाणिज्य दूतावासमा परिणत हुनुअघि नेपालका अन्तिम प्रतिनिधि रहे ।

शोभागजङ्ग थापा नयाँदिल्लीमा कार्यालय प्रमुख रहँदा नेपाल–बेलायतसम्बन्धको आर्थिक मामिलासँग सम्बन्धित सरकारबाट भएको एक महत्वपूर्ण कानुनी प्रावधान उल्लेखनीय छ । श्री ३ महाराज जुद्धशमशेरको कार्यकालको सुरुमा एक सनद जारी भएको थियो । अप्रिल १९, १९३३ मा जारी सनदको दफा ८ मा ‘बेलायती सरकारले यसअघि दिँदै आएको कम्पनी रुपैयाँ १० लाखको सालबसाली भुक्तानी मुलुकी खानामा पठाइ जम्मा गर्न दिल्लीमा कार्यरत वकिलमार्फत गरिने र (मुलुकी खानाबाट) जम्मा गरेको तीन दिनभित्र भर्पाइ लिनुपर्ने’ व्यवस्था गरिएको थियो ।

थापाका पिता त्यति बेला निकै चल्तापुर्जा अधिकारी, प्रभावशाली व्यक्ति र सत्ताका ज्यादै निकट भारदार थिए । त्यसैले उनीबारे पनि केही कुरा चर्चा गर्नु प्रासङ्गिक हुनेछ । कमान्डिङ कर्णेल चन्द्रजङ्ग थापा  क्षेत्रीले १९५९ को पहिलो आमनिर्वाचनमा आफ्नो प्रशस्त जग्गाजमिन सहितको मौजा रहेको इलाका संसदीय क्षेत्र नम्बर ३५ सप्तरी पूर्वबाट प्रतिनिधि सभाका सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन पनि लडेका थिए । तर, निर्वाचनमा कुनै दल विशेषको समर्थन नहुँदा उनले नराम्रोसँग हार बेहोरे । निर्वाचनमा विजयी र बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि भएको आमनिर्वाचनमा पनि सफल भइ प्रतिनिधि सभाको सदस्य भएका तथा कुनै बेला लोकसेवा आयोगका सदस्यसमेत रहेका दुर्गानन्द प्रसाद सिंह थारुले मसँग १९९१ मेमा संसद् सचिवालयमा नयाँ सांसदको परिचयात्मक कार्यक्रममा भेट हुँदा यस प्रसङ्गबारे बताएका थिए ।

सन् साठीको दशकको सुरुसम्म चन्द्रजङ्ग थापाले आफ्नो घरमा नियमित रूपमा स्वागत समारोह र भोजभतेर गर्थे । त्यसमा विशिष्ट व्यक्ति र कूटनीतिज्ञहरूलाई आमन्त्रण गर्थे । यस्तो पार्टीमा नियमित रूपमा उपस्थित हुने अनेक तर, सीमित कूटनीतिक व्यक्तिमा तत्कालीन ब्रिटिस राजदूत लिओनार्ड स्कोप्स पर्थे । कूटनीतिसँग नाम जोडिने र गार्हस्थ्य मामिलामा समेत घागडान कूटनीतिक चालबाजी गर्ने व्यक्तिका रूपमा चर्चित चन्द्रजङ्ग थापाको मृत्यु पनि पटनास्थित नेपालको कूटनीतिक नियोग अलैँचीकोठीमै भएको थियो । उनका ज्वाइँ एवम् विद्वान् नाटककार बालकृष्ण समले यस स्थानलाई अलैँचीकोठी नभनी पटनास्थित जालनको किल्ला हाउस भनी उल्लेख गरेका छन् । आफ्ना ससुरा चन्द्रजङ्ग थापाको निधन जुन २०, १९६२ बुधबारका दिन आफ्नी श्रीमतीको आँखाको उपचार गर्न गएका बखत पटनाको उक्त स्थानमा भएको उनको दैनिकीमा उल्लिखित छ ।

अर्को हिसाबले पनि नेपालको कूटनीतिक पेसासँग शोभागजङ्ग थापाको अप्रत्यक्ष सम्बन्ध थियो । पटकपटक मसँगको कुराकानीमा उनले आफ्ना बूढा ससुराको प्रसङ्ग पनि उठाएका थिए ।(१३) थापाका बूढाससुरा ‘सेकेन’ मेजर जनरल भनिने बहादुरजङ्ग राणा मेजर जनरल दर्जामा प्रचलित नियुक्तिमा दोस्रो श्रेणीमा थिए । अरू सर्वसाधारणको के कुरा, राणाकालीन समयमा प्रधानमन्त्रीका छोरा, नाति वा प्रधानमन्त्रीको उत्तराधिकारी रोलक्रममा नपर्ने राणा परिवारका सदस्यले समेत एकाध अपवाद छाडी जनरल पाउने सम्भावना थिएन । तर, यस व्यवस्थाका सीमित अपवादका रूपमा फर्मायसी मेजर जनरल दर्जा पाउने समूहमा बहादुरजङ्ग राणा परेका थिए । 

भनिन्छ, प्रधानमन्त्री जुद्धशमशेरका बाल सँगाती र ज्यादै मिल्ने कारणले उनलाई जनरल पद दिइएको थियो । जनरल राणाकी नातिनी र कर्णेल दुर्गाजङ्ग बहादुर राणाकी छोरी दुर्गादेवी राणासँग शोभागजङ्ग थापाको विवाह भएको थियो । नेपालको कूटनीतिक कार्यालय नयाँदिल्लीमा सर्नुअघि बहादुरजङ्ग राणाले कोलकातामा रहेको वकिल कार्यालयका अन्तिम प्रमुखका रूपमा पनि काम गरेका थिए । उनका छोरा प्रतापजङ्गबहादुर राणा नयाँदिल्ली कार्यालय सरेपछि पहिलो वकिल भए । थापाकी श्रीमती दुर्गादेवीको निधन १९५५ मै भएको थियो । उनीहरूकी एकमात्र सन्तानमा छोरी युँहजुर हुन् । सुरुमा चन्द्रशमशेरका नवौँ तथा राणा रोलक्रममा नभएका पुत्र बद्रीशमशेर र राजा पृथ्वीवीरविक्रम शाहकी अविवाहिता पत्नीकी छोरी नेपुमहारानी भनिने मेघराज्यलक्ष्मीका छोरा प्रह्लाद शमशेरसँग वैवाहिक बन्धनमा बाँधिएकी युँहजुर पछि रथी कृष्णनारायण सिंह थापासँग प्रणयसूत्रमा गाँसिइन् ।

शोभागजङ्ग थापाले सन् १९३४ मा लन्डनमा खुलेको नेपालको पहिलो राजदूतावासमा पहिलो सैनिक सहचारी भइ सेवा गरेका थिए । नक्साल भगवती बहालस्थित घरमा उनीसँग पटकपटक भेट हुँदा बताएअनुसार राजदूतावासमा राजदूतपछि द्वितीय दर्जाका अधिकृत माणिकलाल राजभण्डारीलाई राजदूतले विशेष पत्यार गर्दैनथे । राजनीतिक प्रतिवेदन या आफूले मस्यौदा गर्नुपर्ने या माणिकलालले तयार गरेको प्रतिवेदनलाई एकपटक त्यति बेला लेफ्टिनेन्ट कर्णेल दर्जाका शोभागजङ्ग थापालाई देखाएर शुद्धाशुद्धि, काँटछाँट वा फेरबदल गरी हस्ताक्षरका लागि ल्याउनू भन्ने राजदूतको ‘स्थायी आदेश’ भएको रोचक तथ्य मलाई बताएका  थिए ।

(पूर्वपरराष्ट्र सचिव तथा राजदूत मदनकुमार भट्टराईको प्रकाशोन्मुख कृति चार कूटनीतिज्ञबाट)

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०७:००
Weather Update